प्रधानमन्त्रीसँग कुनै तिक्तता छैनः नेकपा अध्यक्ष प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै तिक्तता नरहेकाे बताउनुभएकाे छ ।

उहाँले प्रधानमन्त्रीसँग पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयमा निरन्तर कुराकानी भइराखेको पनि उल्लेख गर्नुभएकाे छ ।

केही सञ्चार माध्यममा प्रधानमन्त्री र प्रचण्डवीच खटपट भएकाे भन्ने समाचार सार्वजनिक भएपछि प्रचण्डले यस्ताे प्रष्टीकरण दिनुभएकाे हाे ।

मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध नबिग्रिएको भन्दै प्रचण्डले सोमबार पनि दुई घण्टा प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको बताउनुभयाे ।

‘तपाईंहरू के भ्रममा नपर्नुहोला भने कहिलेकाहीँ मिडियामा आउने एक दुइटा कुराले ठूलै केही पो छ कि भन्ने छ भने त्यो भ्रम हो’ पाँचथरमा मंगलबार पत्रकारहरूसँग प्रचण्डले भन्नुभयाे, ‘हिजोमात्रै प्रधानमन्त्री ओली र म दुई घण्टा बसेर समग्र अवस्थालाई कसरी लैजाने भनेर समीक्षा गरेर समझदारीमा जाने संकल्पसहित आएका छौं। अरू होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्नुहोला।’

पार्टी एकताका विषयमा प्रचण्ड र प्रधानमन्त्रीबीच दुरी बढेको समाचार आएका थिए। पार्टी एकताका सहमति कार्यान्वयन भइरहेकाे पनि प्रचण्डकाे भनाइ छ ।

Facebook Comments