कास्की जिल्ला सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगिता शुरु

कास्की जिल्ला स्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिनमा १२ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन बुधबार छात्रतर्फ ८ र छात्रातर्फ ४ खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।

बुधबार भएको छात्रा तर्फको खेलमा जित हात पार्दै बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनल प्रवेश गरेका छन् । जनप्रिय मावि र तालबाराही मावि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

छात्रतर्फको खेलमा शारदा मावि, बिरेठाँटी मावि, शिवशक्ति मावि, र महेन्द्र मावि विजयी भएका छन् । राष्ट्रिय मावि, सिद्ध बराह मावि, गौरीशंकर मावि, र बहादुरे मावि पराजित भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रतर्फ ८ र छात्रातर्फ २ खेल हुने बताइएके छ । विहीबार छात्रातर्फ शान्ता मावि र जनप्रिय मावि तथा सिद्ध मावि र तालबाराही मावि बिच प्रतिष्पर्धा हुनेछ ।

यसैगरी पुरुषतर्फ छोरेपाटन मावि र तालबराही मावि, हिमालय मावि र मेश्रम रबाह मावि, लक्ष्मी मावि र शिवशक्ति मावि, गोगन मावि र महेन्द्र मावि, सिद्ध बराह मावि र शारदा मावि, राष्ट्रिय मावि र गौरीशंकर मावि तथा बहादुरे मावि र भद्रकाली मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Facebook Comments