राजनीतिज्ञको नीजि जीवन व्यवस्थित हुनुपर्नेमा जोड

विवेकशील साझा पार्टी कास्कीले आफ्ना अभियन्ता र अगुवाहरुलाई प्रशिक्षण दिएको छ । लोककल्याणकारी समाजको परिकल्पना गर्नेहरुका लागि प्रशिक्षण आवश्यक रहेकोले आफ्ना पार्टीसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षण दिईएको पार्टीले जनाएको छ ।

पोखरा सृजनाचोकस्थित पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा उत्प्रेरक समेत रहेका विवेकशील साझा पार्टीका केन्द्रीय प्रशिक्षण विभाग सदस्य बिकल शेरचनले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा पार्टीका ६० भन्दा बढि अभियन्ता तथा अगुवाहरु सहभागी भएका थिए ।

‘परिकल्पनादेखि यथार्थसम्म’शीर्षकमा उत्प्रेरक शेरचनले बोल्दै परिकल्पना र यथार्थ आपसमा धेरै फरक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘परिकल्पनानिकै राम्रो छ । तर यथार्थ धेरै फरक छ । परिकल्पना र यथार्थबीचको यो दुरी घटाउनलाई अगुवाहरु नै प्रशिक्षितहुनआवश्यक छ ।’

शेरचनले पार्टीको मुल्यमान्यतालाई नीजिजीवन र परिवारमा पनि लागु गर्नुपर्ने बताउनुभयो । सुसँस्कृत राजनीति परिवारबाटै शुरु हुने भएकोले वैकल्पिक राजनीति गर्नेहरुले यो कुरालाई विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय युवा संगठन सँयोजक अब्दुस मियाँले युवा पुस्ता मुलधारको राजनीतिमा आउनुपर्नेमा जोड दिनुभयो । राजनीतिलाई शिक्षालयको घेराभित्र राखेर नहुने मियाको धारणा थियो ।

कार्यक्रममा नेशनल इन्स्टिच्युट फर लिडरशीप डेभेलपमेन्ट प्रालिका कार्यकारी निर्देशक उषा मल्ल सिंहले अहिले राजनीतिमा रहेका व्यक्तिहरुमा नेतागिरी भएपनि नेतृत्व क्षमता नभएको बताउनुभयो । कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीसँगै जिल्लास्तरिय अभियन्ता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments