विप्लव नेतृत्वको नेकपाद्वारा सुमार्गीको पोखरामा रहेको जग्गा कब्जा, उजुरी ‘जनपरिषद्’ मा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ब्यावसायी अजयराज सुमार्गीको २५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको छ । पोखरा महानगरपालिका सिशुवामा रहेको २५ रोपनी जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ ।
छिट्टै नवधनाढ्य बन्न सफल अजयराज सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की सिशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं. २९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल जग्गा जग्गाधनीलाई थाहै नदिई आफ्नो नाममा गरेको नेकपा कास्कीले दावी गरेको छ ।
उक्त जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहै नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको दावी गरिएको छ । सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको हो ।
पीडितले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएको नेकपाले बताएको छ । विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागी नहुन भन्दै सूचना टाँसिएको छ ।

