पोखरामा सूचना प्रविधि वृहत् मेला हुने

पोखरामा सूचना प्रविधि वृहत् मेला अर्थात् क्यान इन्फोटेक–२०१९ हुने भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक गर्न लागिएको हो ।

दसौं संस्करणको प्रदेश स्तरीय ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’ को आयोजना गरिएको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको छ ।

कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधि बारेमा इन्फोटकमा जानकारी दिइने मूल आयोजक समितिका संयोजक युवराज पौडेलले जानकारी दिनुभयो । सूचना प्रविधिको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्याउने लक्ष्य सहित हुन लागेको इन्फोटेकको तयारीलाई तिब्र पारिएको पौडेलको भनाई छ ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने आयोजकले जनाएका छन् ।

इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने समेत जानकारी गराउँछौं । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहनेछन् । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा २७ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका काम सुरु गरेको जानकारी गराउँछौं । यस पटक हामीले प्रदेश स्तरको सूचना प्रविधि मेला आयोजना गरिएको जानकारी गराउँछौं ।

Facebook Comments