भेनेजुएलामा राजनीतिक संकट, संसदका नेता गोइदोद्वारा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा
भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । अमेरिकारले भेनेजुयलामा सरकारविरुद्धको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मडुरोले यस्तो घोषणा गर्नुभएको हो ।
मडुरोले भेनेजुयलामा रहेका अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्र देश छाड्न आदेशसमेत दिनुभउको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर, अमेरिकाले भने मडुरोलाई पूर्वराष्ट्रपति भन्दै उनीसँग कुनैपनि शक्ति नरहेको जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष रहेका ३५ वर्षीय गोइदो र अमेरिका दुवैले भेनेजुयलाली सेनालाई मडुरोको साथ नदिन आग्रहसमेत गरेका छन् । तर, भेनेजुयलाको रक्षा मन्त्रालयले भने यस्तो आग्रहको निन्दा गरेको छ । ब्राजिल, कोलम्बिया, पेरुलगायतका सात दक्षिण अमेरिकी राष्ट्रले अमेरिकी कदमको स्वागत गर्दै गोइदोलाई नै भेनेजुयलाको वैधानिक राष्ट्रपतिकारुपमा समर्थन गरेका छन् ।
क्यानडाले पनि गोइदोलाई समर्थन गरेको छ । तर, युरोपेली युनियनले भने नयाँ निर्वाचन गर्नुपर्ने जनाएको छ । यता, मेक्सिको, बोेलिभिया र क्युवाले भने मडुरोलाई समर्थन गरेका छन् ।
गोइदोद्वारा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा
बुधबारमात्र नाटकीय घटनाक्रमकाबीच मडुरोविरुद्धको विशाल प्रदर्शनमा गोइदोले आफैंलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । केही समययता भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । बढ्दो महँगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति पलायन भएका छन् ।
यसै महिनाको सुरुमा मडुरोले राष्ट्रपतिकारुपमा आफ्नो दोस्रो कार्यकालको शपथ लिनुभएको थियो । निर्वाचनकाक्रममा उहाँमाथि धाँधलीको आरोप लाग्दै आएको छ । अमेरिकाले भेनेजुयलामाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।
राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा
भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुसी मनाउँदै जुलुस निकालेका छन् ।
गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्णसमर्थन रहने घोषणा गर्नुभएको छ भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जे्न्टिनासमेतले गुएइदोलाई समर्थन गरेका छन् ।
बर्तमान राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कूटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिनुभएको छ । यद्यपि, राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाकाबारेमा केही सार्वजनिक भएको छैन ।
यो राजनीतिक मामिलामा भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । राजधानी काराकाससमेत देशका सबै प्रमुख सहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ ।
देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् । ‘आज जे भएको छ, यसले हामीमा एउटा आशाको सन्चार भएको छ । यो अतिआवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ’–सरकारविरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गरेका हुन् । ‘गुएइदोले जे भन्नुहुन्छ, हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ । उहाँले अब चुनावको मिति घोषणा गर्नुपर्दछ’–फ्लोरेसले भनेका छन्–‘काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।’
घोषणालगत्तै सडकमा सवारी–साधनले लगातार हर्न बजाएका थिए । कतिपय रंगीविरंगी पोसाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झन्डा फहराएका थिए । प्रदर्शनकारीहरु सहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झन्डा हालेर दौडिरहेका थिए ।
भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन संकटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपिरहेको मदुरोको शासनकाविरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए । गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अवैध घोषणा गरेका थिए ।
प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भन्नुभएको छ–“हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्णलोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।” एकजना मानवअधिकारवादी वकिल गोन्जालेजले भनेका छन् –‘हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो । त्यसका लागि हामी लड्न अझै तयार हुनुपरेको छ ।’

