रुपामा गण्डकी प्रदेशस्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
कास्कीको रुपा गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेशस्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा यहि फागुन २४ गतेदेखि २७ गतेसम्म भलिवल प्रतियोगिता आयोजना गरिएको आइतबार रुपाताल किनारमा आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

प्रतियोगिता रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा हुने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । प्रतियोगितामा गण्डकी प्रदेशका हरेक स्थानिय तहबाट १ टिम सहभागी हुन पाउने र खेलाडीहरु सम्बन्धित स्थानीय तहकै हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्देश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको लागि फागुन २० गतेसम्म नाम दर्ता गर्ने मिति तोकिएको छ । प्रतियोगिताको उद्घाटन फागुन २४ गते पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिनिधी सभाका सदस्य खगराज अधिकारीले गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन गाउँपालिकाको स्थापना दिवस फागुन २७ गते सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तेस्रो हुने टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सान्तवना हुने एक टिमलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित एक थान ट्रयाक सुट र उच्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोलाई नगद ३ हजार तथा अनशासित एक टिमलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगिताका साथै लोपोन्मुख संस्कृति परम्पराको संरक्षण एवं प्रबद्र्धनका लागि विशेष कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । जस अनुसार रुपा गाउँपालिका वडा नम्बर १ बाट मगर, वडा नम्बर २ बाट दलित, वडा नम्बर ३ बाट कुमाल, वडा नम्बर ४ बाट ठकुरी, वडा नम्बर ५ बाट गुरुङ, वडा नम्बर ६ बाट मुस्लिम र वडा नम्बर ७ बाट नेवार जातिलाई झाँकी प्रदर्शनका लागि आह्वान गरिएको आयोजकले जनाएको छ ।
झाँकी प्रदर्शनमा प्रथम हुने टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने र सहभागी टिमलार्य प्रोत्साहन स्वरुप प्रत्येक टिमलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने पनि प्रमुख ओझाले जानकारी दिनुभयो ।

