नेविसंघका दुई गुटबीच कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामै झडप, केही विद्यार्थी घाइते

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।

नेविसंघमा विद्यार्थी नेता कुन्दन काफ्ले नेतृत्वको गुटले ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक सुरु हुनु अघि नेताहरु आपसी छलफल गरिरहेका बेला नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो । सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगा हानाहान गरेको प्रहरीले बताएको छ ।

दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरी दुवै पक्षका विद्यार्थीहरुलाई तितरवितर बनाएको थियो । झडपमा परी एकजना पत्रकारसहित केही विद्यार्थी घाइते भएको बताइएको छ । घाइतेहरु मध्ये जितेन्द्र क्षेत्रीको अवस्था भने गम्भिर रहेको छ ।

Facebook Comments