कांग्रेस सदस्यद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बहिष्कार गरेका छन् । केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई शुरुमा छलफल गर्न नमानेपछि कांग्रेस सांसदले समिति बैठक बहिष्कार गरेका हुन् ।

आइतबार बसेको समिति बैठकको शुरुमा कांग्रेस सांसद देवेन्द्रराज कँडेल र डिला संग्रौला पन्तले बम विस्फोटका विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने र प्रश्न सोध्न पाउनुपर्ने माग गरेका थिए । सांसद संग्रौलाले सरकारले लगानी सम्मेलन गर्ने भनिरहेका बेला एनसेल टावरमाथि हमला हुनु, मान्छेको ज्यान जानुले शान्ति सुरक्षामाथि प्रश्न उठेको बताउनुभयो ।

उहाँले पछिललो समय मुलुकको शान्ति सुरक्षाको अवस्था के हो भन्नेबारे गृहमन्त्रीको जवाफ माग्नुभएको थियो । समिति सभापति श्रेष्ठले उक्त विषयमा छलफल हुने बताए पनि कांग्रेस सांसदहरूले शुरूमा छलफल नभएको भन्दै समिति बैठक बहिष्कार गरेका हुन् । समितिमा त्यसपछि नागरिकता विधेयकबारे छलफल भएको थियो ।

Facebook Comments