आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको तयारी तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थान भने टुङ्गो लागेको छ । चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको छ ।
प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।
नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिनुभयो । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ ।
ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ । एक÷दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

