सरकारले धेरै काम गरेको छ, केही भएन भन्ने प्रचार मात्र : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्माओलीले मुलुकभर आठ सय किलोमिटर सडक कालोपत्रे भएको छ । संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही भएन भन्ने भनाईमा आधार नरहेको भन्दै मुलुकमा विकास निर्माणको कामले गति लिएको दावी गर्नुभएको हो ।
साथै उहाँले कृषि उत्पादनमा उल्लेख्य बृद्धि भएको र त्यसमा सरकारले कृषि आधुनिकीकरण र प्रविधिको प्रयोग सफल भएको बताउनुभयो । थुप्रै सिंचाई योजना सरकारले यस बर्ष पुरा गर्न लागेको बताउनुभयो । भुकम्पपछिको पुननिर्माणमा वर्तमान सरकार गठन भएपछि अभुतपूर्व सफलता हाँसिल गरेकाे जिकीर गर्नुभयाे ।
व्यापार असन्तुलन बढेको र आयात बढेको भन्दै प्रधानमन्त्रीले मुलुक औधोगिकीकरण र आधुनिकीकरण गर्ने क्रममा यस्तो स्वभाविक भएको जिकीर गर्नुभयो । केहीले निराशाका कुरा गर्नेहरु पनि छन्, तर यथार्थमा हिसाव किताव, तथ्याङ्कले स्पष्ट गर्छन प्रधानमन्त्रीको भनाई थियो । समृद्ध नेपाल बनाउनका लागि आधार तयार पारेका र सरकारको १ बर्षको अवधि अत्यन्तै सफल भएको जिकीर गर्नुभयो ।
उहाँले सिके राउत मधेस स्वतन्त्र मधेश गठबन्धनसँगको सम्झौतालाई ऐतिहासिक राजनीतिक उपलब्धिका रुपमा चर्चा गर्नुभयो । पृथकतावादी बाटोमा अगाडि बढेको समूह राजनीतिको मुलधारमा आउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपनेै बताउनुभयो । उहाँले मुलुक विखण्डनको पक्षमा नभई एकताको पक्षमा रहेको उल्लेख गर्नुभयो । देशकाे सार्वभाैमसत्ता, अखण्डताकाे बिषयमा जनमतसंग्रह हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

