कमल थापा नेतृत्वको राप्रपाले जनसंघर्ष गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताउनुभएको छ । सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने थापाको भनाई रहेको छ ।
राप्रपाले हिन्दूराष्ट्र बनाउनुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने लगायतका माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्माओली समक्ष पेश गरेको थियो ।
काठमाण्डौंमा रिपोर्टर्स क्लब नेपालमा आयोजित अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको आरोप लगाउनुभयो । उहाँले राजतन्त्र अन्त्य भएपछिको दशक वित्दा समेत देशमा कुनै उपलब्धि हाँसिल हुन नसकेको जिकरिु गर्नुभयो । जनताले सुख भन्दा पनि झन दुख बेहोर्नुपरेको थापाको दावी रहेको थियो ।
मुलुक अझै अस्थिर रहेको, माओवादीको विद्राहको विउ कायमै रहेकाले पछिल्ला बर्षमा राजनीतिक यात्रा गलत रहेको टिप्पणी गर्नुभयो । राप्रपाले फागुन १५ गतेदेखि स्वाभिमान यात्रा गर्दैछ । ताप्लेजुङका सदरमुकामबाट शुरु हुने यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुनेछ ।

