नेपाल र जापनवीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिलबाट कामदार लैजाने
जापान र नेपालवीच आज श्रम समझदारी भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्यका रुपमा व्याख्या गरिएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान सहमति जनाएको हो ।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गर्नुभएकाे छ ।
समझदारी पत्रमा जापानमा पेसिफाइड स्किल वर्कर अन्र्तगत नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा, एवम् सीप परीक्षण र सहजीकरणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्र्तगत छुट्टै इकाई स्थापना गरिने छ ।
यस्तै समझदारी पत्र प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका प्रतिनिधि रहनेगरी संयुक्त समिति गठन गरिने उल्लेख छ । समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली श्रमिक लिने उल्लेख छ । जापानले आउँदो अप्रिल एक देखि नेपालसहित नौ देशबाट विदशी कामदार आफ्नो देश लैजाने तयारी सहित निर्णय गरेको छ ।
श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार सम्झौता भएपछि आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको बताइन्छ । त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार लगायतका देशबाट समेत कामदार लैजाने बताईएको छ ।


