नेपाल चीन हवाई सम्झौता पुनरावलोकन, चीनका १५ विमानस्थलमा नेपालबाट उडान भर्न पाउने
नेपाल र चीनवीचको हवाई सम्झौता पुनरावलोकन भएको छ । सम्झौता पुनरावलोकन भएपछि नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन् ।
चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सले चाहेका थप ८ वटा विमानस्थलमा उडान भर्न पाउने भएका हुन् ।
यसअघि चीनका ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थामा विमानस्थलको नाम नतोकी नेपाली एयरलाइन्सले उडान चाहेका विमानस्थलमा अनुमति पाउने गरी हवाई सम्झौता पुनरावलोकन गरिएको हो ।
नेपालको तर्फबाट संसकृति पर्यटन मन्त्रालयका सहसचिव शुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अबदेखि नेपाल चीनबीच हप्तामा ९८ उडान हुने छन् । यअघि ७० उडान पाउने व्यवस्था थियो । नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालका अनुसार थपिएको फ्रिक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेछ ।
हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन् । एयर चाइना, चाइना इन्टर्न, चाइना साउदर्नले छेन्दु, कुनमिङ, ग्वाङजाउ, ल्हासा लगायतका स्थानबाट उडान भर्ने गरेका छन् ।

