नेकपा सचिवालय बैठकः नेताका विषयमा सार्वजनिक टिप्पणी गर्न नपाइने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताहरु कार्यकर्ताका विषयमा व्यक्तिगत टिप्पणी गर्न राेक लगाएकाे छ ।

पार्टीका नेता तथा कार्यकर्ताले सम्बिन्धत पार्टी कमिटीमा प्रक्रियागत रूपमा आलाेचना गर्न पाउने निर्णय नेकपाकाे सचिवालय बैठकले गरेकाे हाे ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेकाे सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा सार्वजनिक रूपमा टिका टिप्पणी गर्न नपाइने निर्णय गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कुनै पिन नेता तथा कार्यकर्ताकाे विषयमा कुनै प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरिएकाे हाे ।

यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा टिप्पणी गरे स्पष्टिकरण साध्ने र कारबाही गर्ने निर्णय भएको छ ।

पछिल्लाे समय सामाजिक सञ्जालमा नेताहरूका बारेमा नकारात्मक टिप्पणी बढेपछि नेकपा सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सचिवालय सदस्य माधवकुमार नेपालले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाइ कार्वाही हुनपर्ने माग गर्नुभएकाे थियाे ।

‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ श्रेष्ठले भन्नुभयाे ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

त्यस्तै बैठकले पार्टी संगठनमा नयाँ जिम्मेवारी दिनुका साथै कतिपयकाे जिम्मेवारी हेरफेर गरेकाे छ । राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राई, प्रादेशिक मामिला विभाग उपप्रमुखमा डोरमणि पौडेल, स्कूल विभाग उपप्रमुखमा बेदुराम भुसाल, विदेश विभाग उपप्रमुखमा बिष्णु रिजाललाई चयन गरेकाे छ ।

त्यस्तै सहकारी विभाग उपप्रमुखमा कमल चौलागाई, नीति अध्ययन प्रतिष्ठान सहसंयोजकमा प्रमेश हमाल, इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्जमा रामकुमारी झाँक्री, महिला संघकाे सहइन्चार्जमा अमृता थापामगर र सीता पौडेल, कर्णाली सम्पर्क कमिटी इन्चार्जमा सत्य पहाडीलाई चयन गरेकाे छ ।

सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा वीरमान चौधरी, आदिवासी जनजाति सहइन्चार्जमा सुरेश आलेमगर र शेरवहादुर तामाङ, दलित मोर्चा सहइन्चार्जमा तिलक परियार र बाेमबहादुर विक, प्रेस संगठन सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ इन्चार्जमा केदार न्यौपाने , सहइन्चार्जमा खगेन्द्र राई चयन हुनुभएकाे छ ।

त्यस्तै गरी खेलकूद महासंघ सहइन्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ, शिक्षक सम्बद्ध माेर्चा सहइन्चार्जमा हिक्मत कार्की रहनुभएकाे छ ।

त्यस्तै गरी जिल्ला सहइन्चार्जहरुमा ताप्लेजुङमा तिलकुमार मेन्याङबो, सुनसरीमा भगवती चौधरी, सिराहामा प्रमोदनारायण यादव र हरिनारायण चौधरी, कास्कीमा चुडामणि जंगली, कैलालीमा दीपक देवकोटा, पर्सा इन्चार्जमा रामचन्द्र साह मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्रीलाई जिम्मेवारी ताेकेकाे छ ।

Facebook Comments