गरिमा धानकाे बीउ नक्कली भएकाे पुष्टि
विज्ञहरूले नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको जनाएका छन् । साथै सरकारले नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई क्षतिपूर्ति भराउने भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले गरिमा भनिएको धानको नमूना संकलन गरी डिएनए परीक्षण गर्दा गरिमा वर्णशंकर जातको धानसँग डिएनए रिपोर्ट मिलेको छैन ।
डिएनए रिपाेर्ट नमिलेपछि धानकाे बीउ नक्कली रहेकाे पुष्टी भएकाे हाे ।
विक्रम संवत् २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले धानकाे बीउ बिक्री गरेकाे खुलेकाे छ ।
भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशंकर धान आयात गरेको सनराइजले जनाएकाे छ ।
नेपालमा बीउबिजन नियमावली २०५९ को दफा ३६ ले कसैले बिक्री गरेको बीउबिजनको गुणस्तर र गलत सूचनाका कारणले कसैलाई आर्थिक हानिनोक्सानी पुग्न गएको मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था रहेकाे छ ।
चितवन लगायतका जिल्लाहरूमा गरिमा भनिएको धान थन्काउनु पर्ने समयमा बालासमेत नलागेपछि किसानहरु मर्कामा परेका छन् । चितवनका कतिपय किसानले भने असाेजसम्म पाक्नुपर्ने धान नपसाएपछि काटेर फाली अर्काे बाली लगाउने तयारी गरेका छन् ।
धानकाे बीउ नक्कली परेपछि किसानहरुको लगानीमात्र खेर गएको छैन समयमा लगाउनु पर्ने अन्य बाली पनि लगाउनका लागि समेत समस्या भएकाे छ ।
चितवनमा लगाएको धानमा बाला नलागेको गुनासो किसानहरुबाट आएपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट गत असोज ६ गते चार सदस्यीय विज्ञ टोलीले केही धानखेतको स्थलगत निरीक्षण गरेको थियो ।
विज्ञ टाेलीले किसानलाई क्षतिपूर्ति भराउन र गरिमा वर्णशंकर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन नेपाल सरकारलाई सिफारिस गरेकाे छ ।
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको भनेर ३४ टन धानकाे बीउ भित्राएको र त्यसमध्ये २३ टन बिक्री गरेको पाइएको छ ।
बिक्री भएकाे धानकाे बीउले १ हजार ५ सय हेक्टर बढी क्षेत्रफलका लागि पुग्ने विज्ञहरूकाे भनाइ छ । चितवन, तनहुँ, नवलपरासी, बाँके, बर्दिया, कैलाली कन्चनपुर लगायतका जिल्लामा याे धान लगाइएकाे छ । यसले ठूलाे संख्यामा किसानहरू मर्कामा पर्ने निश्चित छ ।

