राष्ट्रपतिद्वारा तिहारकाे अवसरमा शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले शनिबार एक शुभकामना सन्देश जारी गर्दै तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ ।
यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको सन्देशमा उल्लेख छ ।
तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास समेत सन्देशमा व्यक्त गरिएकाे छ ।
तिहार पर्वको अभिन्न अंगको रुपमा रहेको देउसी-भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सदभाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

