काँग्रेसले गर्ने आन्दोलन उसकै निम्ति घातक हुन्छ : नेता नेपाल

घनश्याम पाण्डे, पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पराजित भएपछि काँग्रेस हतास भएको टिप्पणी गर्नुभएको छ । पोखरामा प्रेस संगठन कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको हो ।

नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) तनहुँमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो । उहाँले प्रतिपक्षी दल काग्रेसलाई हतासमा नआउन आग्रह गर्नुभएको हो । उहाँले चिकित्सा शिक्षा विधेयक परमार्जनको लागि अनसनमा बसेका डाक्टर गोविन्द केसीले पनि विधिको सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रतिपक्षलाई पन्छाउने सरकारको कुनै सोच नरहेको नेता नेपालको भनाई थियो । काँग्रेसले अहिले गर्ने आन्दोलनले काँग्रेसलाई नै ठुलो नोक्सान हुने उहाँको दावी थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले डाक्टर केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ ।

डा.केसीले भनेअनुसार शतप्रतिशत माग त पुरा भएका छैनन् होला, संसद पनि सार्वभौम छ भन्ने कुरा भुल्नु हुन्न नेता श्रेष्ठको भनाई थियो । यसअघि १५ औं अनसनका बेला नेता श्रेष्ठले डा.केसीसँग भेट गरी उहाँका मागका सम्बन्धमा छलफल गर्दा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीसँग विवाद बढेको थियो । संसदको शुक्रबारको बैठकले प्रतिपक्षी काँग्रेसको नाराबाजीकै वीचबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो ।

Facebook Comments