घुस लिने तत्कालीन अख्तियार आयुक्त पाठक र दिने न्यौपाने विरुद्ध मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएके छ । पाठकविरुद्ध मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार गर्नेमाथि कार्वाही चलाउने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर पाठकले घुस लिएको अभियोगसहित मुद्दा दर्ता गरिएको हो ।
आयोगले घूस लिने पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ ।
त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ । कसुर प्रमाणित भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद र ७८ लाख विगो र त्यति नै जरिवाना तिर्नुपर्ने हुन्छ । न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ ।
पाठकले घूस लिएको समाचार बाहिरिएपछि महाअभियोग लगाउनेसम्मको तयारी भएपछि पदबाट राजिनामा दिनुपरेको थियो । न्यौपाने र पाठकबीच एक करोड ६५ लाखमा मुद्दा मिलाउने सहमति भएको र ७८ लाख मात्रै लेनदेन भएका आयोगले अभियोगपत्रमा दावी गरेको छ ।

