२७ जना युवाहरुलाई कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा साथ रहन्छः गभर्नर लम्साल
लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ ।
गरिब तथा विपन्न वर्गका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित कम्प्युटर प्रोफेसनल कोर्ष सुरु गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयाे ।
३ महिनासम्म सञ्चालन हुने उक्त तालिमको शुक्रबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले उद्घाटन गर्नुभएकाे हाे ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि गभर्नर लम्सालले महिला तथा युवाहरुलाई सशक्तीकरण गर्ने आफ्नो अभियानमा मिड टाउनले अग्रपंक्तिमा रहेर साथ दिएको बताउनुभयाे । तालिममा २७ जना युवाहरु सहभागी छन् ।
‘हरेक क्षेत्रमा प्राविधिक शिक्षाको महत्व छ,’ गभर्नर लम्सालले भन्नुभयाे, ‘प्राविधिक शिक्षा लिएर स्वरोजगार बन्न तालिममा सहभागीहरु सक्षम हुनुहुनेछ भन्ने मैले विश्वास लिएकी छु ।’
कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय सचिव जगन बहादुर गुरुङले लायन्स क्लबको आयोजनामा कम्प्युटरको प्राविधिक शिक्षा प्रदान गर्नु सह्रानीय काम भएको बताउनुभयाे ।
कार्यक्रममा लायन्सका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, पढाऔं अभियानका चिफ चण्डीप्रसाद अर्याल, क्यान कास्कीका अध्यक्ष युवराज पौडेल लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको सभापत्विमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रुक्मागत भण्डारी ‘विश्वास’ले र कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गर्नुभएकाे थियाे
सनराइज कम्प्युटर इन्स्टिच्युट बिरौटाको प्राविधिक सहयोगमा कम्प्युटर तालिम सुरु भएको हो । तालिममा सहभागीहरुलाई ३ महिनामा दक्ष बनाइने कार्यक्रम संयोजक विश्वास भण्डारीले जानकारी दिनुभयाे ।
क्लबको आयोजनामा यस अगाडि २० जना महिलाहरुले ग्लोबल आइटी अमरसिंहचोकमा कम्प्युटर तालिम लिइरहेका छन् ।
क्लबले २० जना महिलाहरुलाई झोला बुन्ने तालिमसमेत प्रदान गरिसकेको छ ।

