उपचार गराउन हिडेका बिरामीकाे बाटाेमा नै मृत्यु
उपचारका लागि काठमाडौं लैजाने क्रममा एक बिरामीको बाटाेमा नै मृत्यु भएकाे छ ।
घण्टाै जाममा फसेका कारण समयमा नै अस्पताल पुग्न नसक्दा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहकाे बाटाेमा नै मृत्यु भएकाे हाे ।
महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठका अनुसार मिर्गौला रोगी साहकाे ना ७ ख ५३६४ नंको बसमा नै थाक्रे गाउँपालिका–२, हुलाकडाँडा भन्ने स्थानमा मृत्यु भएकाे हाे ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि काठमाडौं लैजान लागेकाे पारिवारीक श्राेतले जानकारी दिएकाे छ ।
गरीव परिवारका साहलाई एम्बुलेन्समा लैजान पैसा अभाव भएपछि रात्रिबस चढाएर काठमाण्डाै लैजान लागिएकाे भएपनि लामाे जामका कारण मृत्यु भएकाे हाे ।
साहको शव रौतहट लैजान लागिएकाे छ । सडक मर्मत कार्य चलिरहेकाले सवारी जाम भएकाे हाे । जामका कारण एम्बुलेन्स सञ्चालनमा समेत अवराेध पुगेकाे छ । चाडबाडकाे समयमा भएकाे घण्टाैकाे जामले सर्वसाधरणलाइ असर पुगेकाे छ ।
यद्यपि परिवारका सदस्यले बिरामीकाे मृत्यु जामका कारण नभएकाे बताएका छन् ।
मृतकका भाइ रामबाबु साहले दाइको मृत्यु जाममा परेको कारण नभएको जानकारी दिनुभयाे ।
बिगत २ वर्षदेखि दुवै मिर्गौला फेल भइ डाइलिसिस गराइरहेका गौर नगरपालिका–७ रौतहटका ३५ वर्षीय रुपलाल साहको शुक्रबार बिहान ४ बजे मृत्यु भएको थियो ।
जनकपुरमा डाइलिसिस गराइरहेका साहलाई त्यहाँका डाक्टरले पाइप परिवर्तन गर्न भन्दै काठमाडौँ पठाएका थिए ।
बिहीबार साँझ जनकपुरबाट आमासँगै काठमाडौँतर्फ आएका साहको शुक्रबार बिहान ४ बजे नौबिसेबाट १२ किलोमिटर तल हुलाकीडाँडा भन्ने स्थानमा मृत्यु भएको हो । यो सिम्लेको नजिकै रहेको स्थान हो, जुन स्थानसम्म जाम शुरु भएको हुँदैन ।
एम्बुलेन्समा उपचारका लागि ल्याउने खर्च नभएको कारण पनि नभएकाे भाइ रामबाबुकाे भनाइ छ । जनकपुरमा हुँदा अवस्था सामान्य नै थियो, त्यही भएर यात्रुवाहक बसमै काठमाडौँ जान लागेकाे उहाँकाे भनाइ छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठका अनुसार ना ७ ख ५३६४ नम्बरको यात्रुबाहक बसमा राखेर रुपलाललाई काठमाडौं ल्याइँदै थियो । तर सिम्ले कट्ने बित्तिकै हुलाकी डाँडामा बिरामीको मृत्यु भयो, जहाँ सवारी जाम थिएन ।
मृतक रुपलाल साहको श्रीमती र एक छोरा छन् ।
तस्वीरः नारायण सिलवाल

