कास्की २ मा नेकपा उम्मेदवार विद्याकाे जित सुनिश्चित छः प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराइकाे जित सुनिश्चित रहेकाे बताउनुभएकाे छ ।

नेकपा नेतृत्वकाे सरकारले गरेका राम्रा काम र प्रतिपक्षीले गरेका नराम्रा कामले गर्दा नै जितकाे अाधार रहेकाे उहाँकाे भनाइ छ ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झुटाे बाेलेकाे भन्दै आलाेचना समेत गर्नुभयाे ।

उहाँले बुधबार पोखरामा भएको चुनावी सभामा देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लागेको टिप्पणी गर्नुभयाे ।

यसअघि पाेखरामै आयोजित चुनावी सभामा देउवाले भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।

गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको प्रचण्डकाे भनाइ थियाे ।

कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भन्दै उहाँले प्रतिपक्षमा रहने आँट गर्न सुझाव दिनुभयाे ।

पाेखरामा भएकाे नेकपाकाे चुनावी सभामा नेताहरू बामदेव गाैतम, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरूले सम्बाेधन गर्नुभएकाे थियाे । माैन अवधि सुरू हुनुअघि दलहरूले अन्तिम चुनावी सभा गरेका हुन् ।

Facebook Comments