लेखनाथ महोत्सव पौष ३ बाट हुने
१६ औं संस्करणको लेखनाथ महोत्सव आगामि पौष महिनामा हुने भएको छ ।
पौष ३ गतेदेखि पौष १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव २०७६ गर्न लागिएको पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि” भन्ने मुल नाराका साथ हुन लागेको हो ।
महोत्सवमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग पुर्याउनु रहेको जनाइएको छ ।
महोत्सवमा जिल्ला व्यापि माध्यमिक बिद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता, कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता, विद्यालय स्तरीय उत्कृष्ट नृत्य कार्यक्रम लगायतका आर्कषण रहेका छन् ।
त्यस्तै महोत्सवमा लुकेको प्रतिभाको खोजी अभियान — गण्डकी तारा प्रतियोगिता अन्तर्गत हालसम्म पुरस्कृत बिजेता कलाकारहरुबाट विशेष प्रस्तुती, रत्यौली गित प्रतियोगिताबाट हाल सम्म पुरस्कृत समुहहरुबाट विशेष प्रस्तुती, शैक्षिक प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, विभिन्न जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी कार्यक्रम, आदिबासी जनजाति तथा आमा÷महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी समावेश गरिएको छ ।
महोत्सवमा ३३६ स्टल संख्या रहेकामा ६० प्रतिशत स्टल बुक भईसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोवार हुँदा १ करोड ३० लाख आम्दानी हुने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सवमा ९० लाख खर्च भई २० लाख बचत हुने र बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा वृद्धा वुवा, आमा, अपाङ्ग र एकल महिलाहरु (सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा) निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

