मिस तामाङको उपाधी कुसुमलाई
मिस तामाङ्ग पोखराको उपाधी बिरौटाकी कुसुम तामाङले हात पार्नुभएको छ । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जितेको थियो ।
विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल समेत हात पार्नुभएको छ । उहाँले नगद ५० हजार पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्रको साथै म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्नुहुनेछ । उहाँलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गर्नुभएको थियो भने मिस तामाङ पोखराका २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइदिनुभयो ।

नालामुखका प्रिती तामाङले मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप हुँदै नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नुभयो । रामेछापकी सजना वाइवाले मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बन्दै नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नुभएको छ । लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड हात पार्दै नगद १५ हजारले पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ जना युवती सहभागी थिए ।
बैदाम तामाङ समाज पोखराले २८५५ औ सोनाम ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको आयोजना गरेको हो । मिस तामाङको निर्णायकहरुमा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहनुभएको थियो ।

समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष दिपक वाइवा, प्रमुख निणार्यक कलाकार तथा पाइलट विजय लामा, कलाकार प्रशान्त ताम्राकार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
फोटो ः सञ्जय शाक्य

