हिमालयन एअरलाइन्सले बेइजिङमा उडान भर्ने

चीनकाे समेत लगानी रहेकाे अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनकाे राजधानी बेइजिङमा उडान भर्ने भएकाे छ ।

आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।

पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार राजधानी बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो ।

चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने जनाइएकाे छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका एअरलाइन्समा चिनीयाँ लगानीकर्ता समेत फेरिएकाे छ । जस अनुसार यसअघि लगानीकर्ता रहेकाे तिब्बत एअरलाइन्स बाहिरिएकाे छ भने सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी नयाँ लगानीकर्ताका रूपमा भित्रिएकाे छ ।

एअरलाइन्समा चिनीयाँ पक्षकाे ४९ प्रतिशत र नेपाली लगानीकर्ता यति वल्र्ड कम्पनीकाे ५१ प्रतिशत शेयर रहेकाे छ ।

आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ ।

विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन ।

त्यसैगरी हिमालयले प्रवेशाज्ञा प्रक्रियाको झन्झटले राेकिएकाे मलेसियाकाे राजधानी क्वालालम्पुरमा पनि कात्तिक महिनादेखि नै पुनः उडान गर्ने भएको छ ।

कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले जानकारी दिनुभयाे ।

गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र पाँच वटा जहाजले उडान गर्ने योजना बनाएको छ । अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ ।  एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाम (साउदी अरेबिया) मा उडान गरिरहेको छ ।

अध्यक्ष झोले हिमालयको नयाँपनले संस्थागत विस्तार र नयाँ उचाइ हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याएको र आगामी दिनमा कम्पनीलाई नेपाल मात्र नभई एशियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन निरन्तर प्रयास गरिने उल्लेख गर्नुभयाे ।

चिनीयाँ पक्षकाे लगानी रहेका कारण भारतले भने हिमालयलाइ उडानकाे अनुमति दिएकाे छैन । हिमालयले दिल्लीका लागि उडान भर्न अनुमति माग गरेकाे थियाे ।

Facebook Comments