साग उद्‌घाटन समारोहमा नेपालको झण्डा पारस खड्काको नेतृत्वमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते उद्‌घाटन हुँदैछ ।

उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। 

सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो। 

उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ। 

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ। सो मार्चपासमा नेपालको राष्ट्रिय झन्डा पारसले बोक्न सिफारिस गरिएको हो।

मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ। 

उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहने बताइएकाे छ ।

साग गेम काठमाण्डाै, पाेखरा र जनकपुरमा हुनेछ भने प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी र अफिसियल गरी करिब पाँच हजार सहभागी हुनेछन् ।

साग उद्घाटनकाे दिन नजिकिदै गर्दा पनि पूर्वाधार निर्माणकाे काम भइरहेकाे छ । पूर्वाधार निर्माणकाे काम सम्पन्न भइनसकेकाले हतारमा निर्माण कार्यलाइ जारी राखिएकाे हाे ।

Facebook Comments