ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका लागि अक्षयकोष स्थापना
असहाय कल्याणकारी संस्था पोखराले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको छ ।
सो कार्यका लागि असहाय कल्याणकारी संस्थाले १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा सिद्धार्थ क्लवलाई प्रदान गरेको छ भने क्लवका तर्फबाट ९९ हजार थप गरी अक्षयकोष सञ्चालन गर्ने सिद्धार्थ क्लवले जनाएको छ ।
सिद्धार्थ क्लवले मुद्दति खातामा उक्त रकम राखी प्राप्त हुने व्याजबाट पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवामा उक्त रकम सहयोग गर्ने बताइएको छ ।
स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौतामा क्लवका तर्फबाट विनोद श्रेष्ठले र असहाय कल्याणकारी संस्थाका तर्फबाट चन्द्ररमण पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।
सामाजिक सेवामा साझा उत्तरदायित्व बहन गर्नका लागि सहकार्य गरिएको पनि सम्झौतापत्रमा उल्लेख छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुली, स्वतन्त्र पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष कृष्ण थापा, शुभकामना महिला विकास केन्द्रकी अध्यक्ष कौशिला गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम असहाय कल्याणकारी संस्थाका अध्यक्ष चन्द्ररमण पराजुलीको अध्यक्षता र संस्थापक सचिव एवं वर्तमान कार्यसमिति सदस्य हरिश्चन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।


