साल्मेडाँडाको गोरखा स्मारक निर्माण हुन नदिने षडयन्त्र !

स्याङ्जाकाे साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको बाँकी निर्माण कार्य अन्योलमा परेको जनाइएको छ ।

गेसो तथा गोरखा स्मारक ट्रष्टका संस्थापक सभापति पदमबहादुर गुरुङले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर बीर गोरखाहरुको सम्मानमा बन्न लागेको राष्ट्रिय गौरवको पूरातात्विक सम्पदा निर्माण हुन नदिने चलखेल भएको जिकीर गर्नुभयो ।

गुरुङले पत्रकार सम्मेलनमार्फत डा. गणेशमान गुरुङ र चन्द्रबहादुर गुरुङको नामै लिएर स्मारक निर्र्माणमा उनीहरु बाधक बनेको आरोप लगाउनुभयो ।

उनीहरुले स्मारक निर्माणको लागि यसअघि तयार भएको संरचना नै बिगार्नेगरी खानेपानी लगायतको योजनाको नाममा सम्पदामाथि धावा बोल्ने काम भएको गुरुङको आरोप थियो ।

बीर गोर्खाहरुको समाधीस्थल स्वरुप बन्न लागेको स्मारकको स्वरुप नै बिगार्ने उद्देश्यले गुरुङद्वयले खानेपानी योजना ल्याएको गेसो संस्थापक सभापति गुरुङको दाबी छ ।

नेपाल सरकारबाट प्राप्त ८० लाखको बजेटलाई दुरुपयोग गरेर खानेपानी योजनाको नाममा स्मारक बन्न नदिने षडयन्त्रमा लागेको उहाँको आरोप थियो ।

खानेपानी योजनाका लागि पर्यटन बोर्र्ड कार्यलयको ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाखको बजेटलाई नै गुरुङद्वयले दुरुपयोग गरेको उनले आरोप लगाउनुभयो ।

गुरुङद्धयले स्वार्थको राजनीति गरेको भन्दै गुरुङले राष्ट्रिय गौरवको सम्पदा निर्माणमा बाधक बन्ने उद्देश्यले स्वार्थको राजनीति गर्न कसैलाई छुट नभएको बताउनुभयो ।

Facebook Comments