जनताको चाहना विपरित बजेटः काँग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले जनताको चाहना विपरित हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना विपरित हुने गरी आएको निष्कर्ष निकालेको हो ।
नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताउनुभयो ।
बैठकमा काँग्रेस सांसदले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ । प्रमुख सचेतक खाँणले सांसदका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

