प्रधानमन्त्री ओली सबै मन्त्री र मन्त्रालयका सचिवसँग गम्भीर छलफलमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न लाग्नुभएको छ । छलफलका लागि सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई डाकिएको छ ।
सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरुले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले मन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
सवै मन्त्री र सचिवहरुसँगको छलफल विहान साढे १० बजेदेखि सिंहदरवारमा भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिनुभयो ।
मन्त्रीहरु र सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र योजनाका बारेमा सामुहिक छलफल गर्दै योजना कार्यान्वयनको प्रतिबद्धता माग्ने बुझिएको छ ।
कार्यक्रममा हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
मन्त्रीमण्डल फेरबदलको प्रसंग आइरहेका बेला प्रधानमन्त्रीले मन्त्रीहरुसँग गर्न लाग्नुभएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
केही मन्त्री र सचिवहरुको कामकारवाहीप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइन्छ । केही समय अगाडि सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री ओलीले सचिवहरुले झुठो रिपोर्ट दिएको बताउनुभएको थियो ।
त्यतिबेला मेलम्ची प्रकरण र भारतबाट आयत हुने तरकारीमा विषादी परीक्षणको तयारीका सम्बन्धमा उच्च तहका कर्मचारीले ढाँटेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको थियो ।

