संसद बैठकमा काँग्रेस र राजपा सांसदको नाराबाजी, बैठक स्थगित
प्रतिनिधि सभाको बुधबारको बैठकलाई पनि प्रतिपक्षी दलका सांसदहरुको अवरुद्ध पारेका छन् ।
निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्दै नारावाजी समेत गरेका छन् ।
सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाएका छन् ।
सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वका पार्टी नेता कुमार पौडेललाई गैरन्यायिक हत्या भएको भन्दै संसदीय छानविन समिति गठन गर्न काँग्रेस र राजपाको माग रहेको छ ।
सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा अरु धेरै माननीयले जनताका सरोकारका विषयमा छलफल गर्न नपाएको भन्दै बैठक सूचारु हुन दिन आग्रह गर्नुभएको छ ।
उहाँले गम्भीर विषयमा समेत छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन् ।
सभामूख महराले ठट्यौली शैलीमा धेरैभर उभिंदा थाकिन्छ, अव थाक्नुभयो कि जस्तो माननीयहरु बस्नोस् भनेर बेला बेलामा आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरु भने नाराबाजी गरिरहेका हुन् ।
सभामुखले संसद अवरुद्ध हुँदा झन् संसदीय सर्वोच्चता कायम नहुने बताउँदै आउनुभएको छ । बैठक भाेलीसम्मका लागि स्थगित भएकाे छ । यसअघि गत सोमबारको बैठक पनि अवरुद्ध भएको थियो ।

