सन् २०५० सम्ममा समुद्रकाे सतह वृद्धिले कराेडाैं नागरिक विस्थापित हुने
जलवायू परिवर्तनका कारण विश्वका विभिन्न मुलुकका नागरिक प्रभावित हुने भएका छ्न् भने विभिन्न सहरहरू समुन्द्रमा डुब्ने भएका छन् । जसका कारण कराेडाैं नागरिक प्रभावित हुने वैज्ञानिकहरूले बताएका छन् ।
भियतनाम र थाइल्याण्ड समुन्द्रकाे सतह बढ्दा डुवानमा पर्ने मुलुकमा पर्दछन् ।

समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ।
वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो।
एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष्कर्षअनुसार सन् २०५० सम्म संसारभरका १५ करोड मानिसको समुद्री सतह वृद्धिका कारण उठिबास हुनेछ।
विश्व मानचित्रबाट पूर्ण रूपमा नामेट हुने तटीय क्षेत्रमा भियतनामको दक्षिणी भूभाग धेरै रहेकाे छ ।
आवरण तस्बिरमा देखाइएको पहिलो नक्साअनुसार सन् २०५० सम्म दक्षिणी भियतनामको तटीय क्षेत्र मात्र समुद्रीमुनि डुब्छ भन्ने अनुमान थियो। नयाँ स्याटलाइट नक्साअनुसार यो शताब्दीको मध्यसम्म दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको दक्षिणी भू–भाग लगभग पूर्ण रूपमा पानीमुनि हुनेछ।
भियतनामका मात्रै २ करोडभन्दा बढी मानिस प्रभावित हुने बताइएकाे छ । कुल जनसंख्याको एकचौथाइ हो। अहिले जमिनमा बसोबास गरिरहेका ती दुई करोडभन्दा बढी भियतनामीको घरखेत सबै विश्वनक्साबाट हराउनेछ।
भियतनामको आर्थिक केन्द्र हो ची मिन सहर, थाइल्याण्डकाे राजधानी बैंकक सहरकाे ठूलो भू–भागसमेत समुद्रमुनि डुब्ने अनुसन्धानले देखाएको छ।
अमेरिकाको न्यूजर्सीस्थित विश्व जलवायुमा काम गर्ने संगठन ‘क्लाइमेट सेन्ट्रल’ ले गरेको अनुसन्धानको निष्कर्ष ‘नेचर कम्युनिकेसन्स’ नामक जर्नलमा प्रकाशित छ। प्रभावित हुने प्रक्षेपण अहिलेको जनसंख्याका आधारमा गरिएको हो।


चीनको प्रमुख आर्थिक केन्द्र सांघाई सहर, भारतकाे मुम्बइ, इराककाे बासरा, इजिप्टको अलेक्जेन्ड्रिया लगायतका सहरहरू समुद्री सतह वृद्धिको उच्च जोखिममा रहेकाे बताइएकाे छ।

जोखिम कम गर्न समुन्द्री तटमा बलियाे बाँध बनाउने तथा प्रभावित हुने सहरका नागरिकलाई आन्तरिक रूपमा स्थानान्तरण गराउन वैज्ञानिकहरूले सुझाएका छन्।
विज्ञहरूले समुद्री सतह वृद्धिले ल्याउने प्रभावलाई वातावरणीय समस्या मात्र नभइ मानवता, सुरक्षा र सैन्य समस्या निम्त्याउने चेतावनी समेत दिएका छन् ।
द न्यूयाेर्क टाइम्सबाट

