काँग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच राष्ट्रियसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । विहीबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद्ले उठेर विरोध जनाईरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरिएको हो ।

अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएका हुन् । बैठकको सुरुमै काँग्रेस सांसद जितेन्द्रनारायण देवले डा गोविन्द केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारबाही अघि नबढाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

काँग्रेसका सांसदहरूले उठेर विरोध जनाईरहे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भए पनि ती प्रस्ताव बहुमतले अस्विकृत गरेको छ । पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ ।

Facebook Comments