काठमाडौंबाट जाउँ है पोखरा अभियान सुरु
सत्र बर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानलाई यसपटक राजधानी काठमाडौंबाट पुनः निरन्तरता प्रदान गरिएको छ । नेपालका मुख्य चार शहरहरु– काठमाडौं, जनकपुर, चितवन र लुम्बिनीलाई केन्द्रित गरी पश्चिमाञ्चल होटल संघ पोखराले अभियानलाई निरन्तरता दिएको हो ।
चैत १६ देखि २० गते सम्म संचालन हुने अभियान अन्तर्गत संघले काठमाडौंमा शनिबार होटल संघ नेपालसँग मिलेर एक पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको हो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले सरकार–माओवादी द्वन्दको कठिन अवस्थामा संघले जाउँ है पोखरा अभियान संचालन गरेको जानकारी गराउनुभयो । अभियानले अहिले देश भरि नै आन्तरिक पर्यटन प्रबद्र्धनमा एउटा जागरण सिर्जना गरेको बताउनुभयो । सो अवसरमा उनले पोखरामा यही चैत २९ गते देखि आगामी बैशाख १ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत काठमाडौंवासीसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले संघले जाउँ है पोखरा अभियानपछि भारतीय बजारका लागि चलिए पोखरा अभियान संचालन गरेको स्मरण गराउँदै निकट भविश्यमा बंगलादेशमा समेत यस्तो अभियान संचालन गरिने जानकारी दिनुभयो । बढी भन्दा बढी पर्यटकलाई नेपालमा आकर्षिक गर्न सडक र हवाई सेवा जस्ता पक्षलाई सरकारले बढी ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले आन्तरिक पर्यटन प्रबद्र्धनमा पोखराले नमुना काम गरेको भन्दै जाउँ है पोखरा जस्तो अभियान नेपालका अरु शहर र गाउँहरुले पनि सुरु गर्न सके राम्रो हुने भनाई राख्नुभयो ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामान्य किसानदेखि ठूला व्यवसायीलाई समेत लाभ पुग्ने गरेको बताउँदै गण्डकी प्रदेश सरकारले घोषणा गरेको जारी आन्तरिक पर्यटन बर्ष २०१९ मा पर्यटनका विभिन्न सेवामा व्यवसायीले १५ प्रतिशत छुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौंमा आयोजित कार्यक्रममा फेवा नव बर्ष महोत्सवका प्याकेजहरु समेत सार्बजनिक गरिएको थियो । ती प्याकेजमा घुमघाम, मधुमास र शैक्षिक भ्रमण रहेका छन् । कार्यक्रमका अवसरमा गन्तव्य पोखराको ब्रोसर समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।

