विदेशमा रहेका नेपालीकाे उद्दार शुरू, म्यानमारबाट २६ नेपाली काठमाण्डाैमा

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरिएकाे छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीकाे उद्दार गर्ने निर्णय गरेसँगै शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीकाे उद्दार भएकाे छ ।

म्यानमार सरकारले नै त्यहाँकाे सेनाको एयरफोर्स जहाज मार्फत् उनीहरुलाई काठमाडौं ल्याइदिएकाे हाे ।

काठमाण्डाै अवतरण भएका सबैलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)ले जनाएकाे छ ।

सीसीएमसीको संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिनेछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । हाेल्डिङ सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

शुक्रबार नै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी सरकारकाे रहेकाे छ । नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए विभिन्न कारणले विमान उड्न नसकेकाे बताइएकाे छ ।

यूएईबाट आउने अधिकांश त्यहाँ अलपत्र अवस्थामा रहेका थिए । उनीहरूकाे कोरोना परीक्षण नभएकाले उनीहरुलाई हाेटल क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी सरकारले गरेकाे छ ।

होल्डिङ सेन्टरमा बढीमा एक दिनसम्म राकेर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ ।

विदेशबाट दैनिक २ हजार ९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा नेपाली सेनाले काठमाडौं र भक्तपुरमा एक/एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरेकाे हाे ।

सरकारकाे तयारी अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्ओणाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ । ति जिल्लामा रहेका विभिन्न पार्टी प्यालेसलाइ हाेल्डिङ सेन्टरका रूपमा प्रयाेग गर्न लागिएकाे हाे ।

Facebook Comments