भीरकोटमा कोरोना रोकथामका लागि विशेष सतर्कता
स्याङ्जाको भीरकोट नगरपालिकाले कोरोना संक्रमण रोकथामतथा नियन्त्रणका लागि वडा नं. १मा रहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
यसका साथै दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिनका लागि निश्चित समय तोकेर सुरक्षा सतर्कता अपनाई किनमेलको व्यवस्था मिलाएको भीरकोट नगरपालिकाले जनाएको छ । , असहायतथा वृद्ध र दैनिक मजदुरी गर्नेहरुलाई ध्यानमा राखी दैनिक खाद्यान्नका सामाग्रीहरु वितरण गर्ने ब्वयवस्था मिलाइएको छ ।

कोरोना भाइरस(कोभिड–१९) सुचना सम्प्रेषणका लागि टोल विकास संस्थाका अध्यक्षहरुलाई सञ्चार शुल्क समेत प्रदान गर्ने निर्णय गरिएको छ । भाइरस संक्रमण फैलिन नदिनका लागि औषधि छर्ने र जनचेतनाका लागि माइकिङ गर्ने कामलाई तिब्रता दिइएको छ ।
नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसीका अनुसार भीरकोट नगरपालिकामा अहिलेसमम ४७ जना क्वारेन्टाइनमा बसेका छन् ।
विभिन्न वडाहरुका ४६ जना होम क्वारेन्टाइनमा रहेको र उहाँहरुको नियमित स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस संक्रमणसँग मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएको छैन ।
भाइरस संक्रमण तथा रोकथामका लागि भारत लगायत विभिन्न मुलुकहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने, सामाजिक भौतिक दुरी कायम राख्नुपर्ने, खानपान तथा व्यक्तिगत स्वास्थ्यमा ध्यानदिनु पर्ने, सकारात्मक सोँच राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

