प्रतिनिधिसभाबाट दाेस्राे संविधान संशाेधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।

शनिबारको प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ सांसदले संविधान संशाेधनकाे पक्षमा मतदान गरेका हुन् ।

संसदमा उपस्थित सबै सांसदहरूले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन।

सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो।

संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची-३ मा नेपालको निशान छाप रहेको छ। उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन। सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।

लगत्तै सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो। सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्।

अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

यसअघि मधेसका सवालमा असन्तुष्ट जनता समाजवादी दलका नेताहरूले अाफ्ना माग समेत समेटेर संविधान संशाेधन गर्नुपर्ने माग गरेका थिए ।

संविधान संशाेधन विधेयक खारेज गर्न माग गर्दै जनता समाजवादी दलकी नेतृ सरिता गिरीले संशाेधन दर्ता गरेपनि सभामुखले साे संशाेधन अस्वीकृत भएकाे घाेषणा गर्नुभएकाे थियाे । लगत्तै संसद बैठक छाडेर गिरी मतदान पक्रियामा समेत सहभागी हुनुभएन । ४ जना निलम्बित सांसद र अन्य १२ जना सांसद भने बैठकमा अनुपस्थित रहेका थिए ।

Facebook Comments