आज आर्थिक वर्ष २०७७/०७८ को बजेट आउँदै
आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् ।
दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्ने कार्यक्रम रहेकाे छ ।
अर्थमन्त्रालय श्राेतका अनुसार यसपटककाे बजेटले कोरोना महामारीमा केन्द्रित गर्ने र पुराना कार्यक्रमलाइ निरन्तरता दिने गरी अाउन लागेकाे छ ।
फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने विज्ञहरुले बताएका छन् ।
कोरोना रोक्न गरिएको लकडाउनले आर्थिक गतिविधिमा बन्देज गर्दा राजस्वको असुलीमा ठूलो प्रभाव परेको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरू बजेट स्वास्थ्य र कोरोनाले पारेको आर्थिक प्रभाव न्यूनीकरणमा केन्द्रित हुने बताउँछन् । सरकारले स्वास्थ्य पूर्वाधारलाई भने पर्याप्त बजेट दिने तयारी गरेको छ । खासगरी कोरोना रोकथामसँग सम्बन्धित कार्यक्रमलाई बजेटले समेट्नेछ । बजेटले कृषि, राेजगार र स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता पाउने बताइएकाे छ ।
काेराेनाका कारण लाखाैं युवाले राेजगारी गुमाएकाे सन्दर्भमा नयाँ बजेटले राेजगारी सिर्जना गर्नुपर्ने कडा चुनाैति छ ।

