एमसीसी अनुमोदन गर्ने/नगर्ने संसदकाे जिम्मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले नै छिनाेफानाे गर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने अन्यथा अनुसूचीबाट हटाइने जानकारी दिनुभयाे ।

संसदबाट एमसीसी अनुमाेदन नभएमा साे अन्तर्गतका याेजना सरकारकाे श्राेत साधनबाट निर्माण गरिने स्पष्टीकरण अर्थमन्त्रीले दिनुभएकाे श्राेतले बताएकाे छ ।
आजको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेतको सहभागीता रहेको थियो ।
यसअघि नेकपाकाे केन्द्रीय समिति बैठकले एमसीसी अध्ययन गर्न पार्टीमा झलनाथ खनालकाे नेतृत्वमा कार्यदल बनाएकाे थियाे ।
साे कार्यदलले दिएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी कार्यन्वयन गर्न नहुने सुझाव दिइएकाे छ । गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो ।
सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो ।
अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ । एमसीसीकाे बिषयमा नेकपामा तीव्र विवाद रहेकाे छ ।

