गोरखा जिल्लाकाे लिगलिग क्षेत्रमा पहिरो
गोरखा जिल्लास्थित ऐतिहासिक लिगलिगकोट क्षेत्रमा अविरल वर्षाको कारण आज २०७८ असार १७ गते बिहान ६ः०० बजेको समयमा अचानक ठूलो पहिरो गएको छ ।
झण्डै ७०० वर्ष यताको इतिहास अध्ययन गर्दा यस क्षेत्रमा बाढी पहिरो नगएको तर यसपटक ठूलाे पहिराे गएकाे स्थानीय बताउँछन् ।
नेपाल एकीकरणको आरम्भिक बिन्दु लिगलिगकोटस्थित हाल पुननिर्माण भइरहेको दरबार क्षेत्र (जहाँ नेपालको सबैभन्दा ठूलो झण्डा राखिएको छ) को पश्चिम मैबल गाउँतर्फको भागतिरबाट बगेको पहिरोले मैबल गाउँको पूर्वी भाग रुसेपानी, भोगटेनीबारी हुँदै राउतेपानी गाउँको बीच भागबाट तल लामाखेतसम्मका धेरैजसो भाग बगरमा परिणत भएका छन् ।
यस बीचमा पर्ने स्थानीयका दर्जनाै घर, गोठ, पानी ट्याङ्की, खेतबारी र सडकहरुमा क्षति पुगेको छ । अधिकांश ठाउँमा विजुलीका पोलहरु ढलेका छन्, पिउनेपानीको ट्याङ्की र पाइपहरु बगाएका छन् । बस्तीहरु जोखिममा परेका छन् ।
पालुङटार हुँदै अापपिपल, हर्मी हुँदै भच्चेक जाने पक्की सडककाे विभिन्न स्थानमा पहिराेका कारण सडक मार्ग पूर्णत अवरुद्ध भएकाे छ । राउतेपानी गाउँका मानिसहरुलाई तत्कालका लागि सगरमाथा प्राथमिक विद्यालयमा बसोबासको व्यवस्था गरिएको छ । लिगलिगकोटको पूर्वी भागमा अवस्थित खोल्ली गाउँमा ठकुरी गाउँका केही घर, गोठहरु पुरिएको अवस्था छ भने ढाँक्रेस्वाँरामा पनि केही घरहरु बगेका छन् ।
बिहानको समय भएका कारण मानवीय क्षति भएको छैन । कतिपय ठाउँमा पशु चौपायाहरु पुरिएका छन् । घरमा भएका लुगाफाटा, भाँडाकुँडादेखि अन्नपात झिक्न पाएको अवस्था छैन । क्षतिग्रस्त घर तथा जोखिमयुक्त क्षेत्रका वासिन्दाहरु वरपरको सुरक्षित स्थानका घरहरु र विद्यालयमा जम्मा भएर बसेको अवस्था छ ।

पालुङटार नगरपालिकाकाे खोल्लीगाउँ, कोटगाउँ, ठूलो वन क्षेत्र, मैबल, राउतेपानी, पाच्यान, ढाँक्रेस्वाँरा क्षेत्रमा बढी क्षति पुगेको छ । पहिरो बगेको ठाउँहरुको विभिन्न भागबाट ठुल्ठूला पानीको मुल पलाएको अवस्था छ ।
क्षतिग्रस्त क्षेत्रमा गाउँबासीहरुदेखि स्थानीय जनप्रतिनिधिहरु र नेपाल प्रहरीहरु अवलोकन तथा उद्दार कार्यमा जुटिरहेका छन् । २०७२ को विनासकारी भूकम्पले जमिन हल्लाएको, चिरिएको र यतिखेर भएको अविरल वर्षाका कारण जमिन कमजोर भई पहिरोमा परिणत भएको देखिन्छ ।
नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले क्षति पुगेका स्थानमा उद्धार र राहतका लागि जुटिरहेकाे जानकारी दिनुभयाे ।

