निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएकाे छ ।
पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताउनुभयाे ।
उहाँले लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको भन्दै क्षमताले भ्याएसम्म सहकार्य गर्ने बताउनुभयाे ।
उनले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलकाे भनाइ छ ।
व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको भन्दै उनले प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने उहाँकाे कथन छ ।
मुख्यमन्त्री पोखरेलले राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयाे ।
मुख्यमन्त्री पोखरेलले स्रोत र आवश्यकताबीच धेरै खाडल रहेको भन्दै यही चुनौती खेपेर सरकारले काम थालेको बताउनुभयाे ।
अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताउनुभयाे । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राख्नुभयाे । कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
कम्पनी रजिस्टारको कार्यालय पोखरामा ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिनुभयाे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयाे ।
कार्यक्रम संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्री हरिशरण आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, वन तथा वातावरण मन्त्री दीपक थापालाई सम्मान गरिएको थियो ।

