नागकाे पुजा अर्चनाकाे साथ नागपञ्चमी मनाइँदै
आज नागपञ्चमी । नागदेवताकाे पूजा अर्चनाका साथ नागपञ्चमी मनाइँदैछ । नागपञ्चमीपछि वर्षा कम हुने तथा चाडबाडहरूको मौसम शुरु हुने गर्छ । हिन्दु धर्मावलम्वीहरूले नागकाे विशेष पुजा अर्चनाका साथ नागपञ्चमी मनाउँछन् ।
यतिबेला युद्ध, त्रास, भय, अपराध अनि मानवीय चाहनाहरूको उत्कट समयमा सबैलाई कल्कीको आगमनको अपेक्षा छ । विष्णुको दश अवतारमध्ये अन्तिम अवतार कल्कीको आगमनसँगै कलियुग समापन हुने र सत्ययुगको चक्रतर्फ सभ्यताउन्मुख हुने धार्मिक विश्वास छ । नागपञ्चमीका दिन कल्कीको पनि जयन्ती मनाइन्छ । यस विषयमा म पछि आउनेछु ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्काेटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।

