देशका विभिन्न जिल्लामा बाढी पहिराे, जनजीवन प्रभावित

मनसुनकाे सुरूवातमै देशका विभिन्न स्थानमा भीषण बर्षापछिकाे बाढी पहिराेका कारण जनधनकाे क्षति भएकाे छ ।

सिन्धुपाल्चाेक, लमजुङ र मनाङमा बस्ती नै बिस्थापित बन्न पुगेका छन् भने केहीकाे बाढी पहिराेमा परेर मृत्यु भएकाे छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा लगातार परेको पानीले राजमार्ग तथा स्थानीय सडक मार्गहरूमा पहिराे तथा कटानका कारण यातायात सेवा प्रभावित बनेकाे छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चाेककाे हेलम्बुमा ७ जनाकाे मृत्यु भएकाे छ, लमजुङमा एक जनाकाे मृत्यु भएकाे छ । त्यस्तै बाजुरा २ र गाेर्खामा १ जनालाई खोलाले बगाएको छ।

यतिबेला स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले बाढी पहिराे प्रभावित क्षेत्रमा उद्दारका लागि प्रयास गरिरहेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची बजार बाढीले क्षतिग्रस्त बनेकाे छ भने एक होटलकाे छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

यसैगरी, लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।

बाढी पहिराेबाट अत्यन्त प्रभावित बनेकाे मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। अहिले भने थुनिएकाे नदीकाे वहाव शुरू भएकाे छ ।

नदी थुनिएसँगै सदरमुका चामे, ताल गाउँ लगायत तल्लाे क्षेत्रमा रहेका नदी तटीय क्षेत्रमा जाेखिम बढेकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले  जानकारी दिनुभयाे ।

बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय भन्दा बढी नागरिक विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको पहिरोले ठाउँ-ठाउँमा सडक अवरूद्ध हुँदा मनाङमा उद्दार कार्यमा समेत कठिनाइ भएकाे छ ।

Facebook Comments