लुम्बिनीमा जसपाबाट मन्त्री बनेका ४ जनाकाे पदबारे पूर्ण इजलासमा सुनुवाइ हुने
मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पदका बारेमा पूर्ण इजलासमा सुनुवाइ हुने भएकाे छ ।
सर्वोच्च अदालतले सोमबारको पेशीमा पूर्ण सुनुवाइका लागि पेश गर्ने भन्ने आदेश गरेपछि अन्तिम फैसला नहुँदासम्म उनीहरुको प्रदेश सांसदकाे पद पनि जाेगिने भएकाे छ ।
जसपा उपेन्द्र यादव समूहले कारबाही गरेपछि कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी पुर्नबहालीको मागसहित सर्वोच्च अदालत गएका थिए ।
न्यायाधीशहरू दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश दिएका हुन् । यसअघि सर्वोच्च अदालतले ३ जेठमा सांसद पदमा रहेर कामकारबाही गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सर्वाेच्चकाे याे फैसलासँगै मुख्यमन्त्री शंकर पाेखरेललाइ तत्कालका लागि राहत मिलेकाे छ । विपक्षीले पाेखरेल नेतृत्वकाे सरकार अल्पमतमा रहेकाे तथा अवैधानिक तरिकाले गठन भएकाे बताउँदै आएका छन् ।

