पुडासैनीलाइ लेखापरीक्षण पद्धतिकाे अध्ययनमा विधावारिधि
लेखापरीक्षण पद्धतिबारेकाे अध्ययनमा दामाेदर पुडासैनीले विधावारिधि उपाधि हाँसिल गर्नुभएकाे छ ।
नेपाल संस्कृत विश्वविद्यालयले पुडासैनीको शोधप्रबन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि (पीएच.डी.) उपाधि प्रदान गरेको हाे ।
पुडासैनी नै लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि हाँसिल गर्न सफल हुनुभएकाे हाे ।
पुडासैनीकाे शोधप्रबन्धमा प्राचीन कालदेखि वर्तमान सम्मको लेखापरीक्षणको विकासको विश्लेषण गरि आगामी दिनमा लेखापरीक्षण क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्धमा विश्लेषण गरिएकाे छ ।
अध्ययनमा लेखापरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी भ्रष्टाचारको पहिचान र निवारणमा समेत लेखापरीक्षण सहायक सिद्ध गर्ने बाटाहरू कम जनशक्तिबाट बढी परिणाम र गुणस्तरीय लेखापरीक्षण गर्ने उपायहरू, लेखापरीक्षणको माध्यमबाट तत्कालै त्रुटी, भूल, जालसाँजी र हिनामिना पत्ता लगाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सकिने लगायतका बिषय समावेश छन्।
पुडासैनीले शाेधप्रबन्धमा निकालिएको निष्कर्षलाई अबलम्वन गरेमा आम्दानी र खर्चको सदुपयोग हुने, तत्क्षणमा लेखापरीक्षण गरि तत्कालै सुधारको क्षेत्र अनुशरण गर्न सकिने उल्लेख गर्नुभएकाे छ । पुडासैनी नेपाल सरकारकाे नायब महालेखा परीक्षकको पदबाट सेवा निवृत्त व्यक्ति हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयकाे आर्थिक व्यवस्थापन विज्ञको रुपमा समेत काम गर्नुभएका पुडासैनी साहित्यकार समेत हुनुहुन्छ । पुडासैनीका पाँच नियात्रासङ्ग्रह, दश कवितासङ्ग्रह र एक दर्शन कृति गरि सोह्र पुस्तकहरू प्रकाशित छन् ।

