दण्डहीनतालाई प्रश्रय दिने मन्त्रीलाई पदमुक्त गर्न विवेकशील साझा पार्टीकाे माग
विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतलाई नै प्रसय दिने खालकाे गतिविधि गर्ने नेपाल सरकारका शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकाे छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे छ।
आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिकाे दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेकाे पनि विज्ञप्तिमा जनाइएकाे छ ।
काठमाण्डाैमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन समेत विवेकशील साझा पार्टीले सरकारसँग जोडदार माग गरेकाे छ ।

