कक्षा १२ को परीक्षा अध्ययन गरेकै विद्यालयमा हुने
कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी दिनुभएकाे हाे ।
कक्षा १२ काे परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म हुँदैछ ।
एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा यात्रा गर्नुपर्ने, भीडभाड हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने लगायतका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले अध्ययन गरेकै विद्यालयमा(होम सेन्टर) परीक्षा गर्नु पर्ने अवस्था आएको सचिव दुर्गा अर्यालले स्पष्ट पार्नुभयाे ।
बाेर्डले एसइइको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशन गर्ने निर्णय गरिसकेकाे छ । बाेर्डले गत बर्ष कक्षा ११ तथा १२ काे नतिजा पनि आन्तरिक मूल्यांकनबाट प्रकाशन गरेकाे थियाे ।

