पत्रकार महासंघ कास्कीद्वारा सन्ध्याको परिवारमा समवेदना व्यक्त
पत्रकार महासंघ कास्कीद्वारा पत्रकार राजु बराल क्षेत्रीको छोरी स्व.सन्ध्या बराल क्षेत्रीको घरमा गई शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ कास्कीका साधारण सदस्य राजु क्षेत्रीको सुपुत्री सन्ध्या बराल क्षेत्रीको २१ वर्षको उमेरमा असामयिक निधनले महासंघ स्तब्ध भएको बताउँदै यस दु:खद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। साथै उहाँले शोकसन्तप्त परिवारजनमा व्यक्तिगत एवम् संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो।
अध्यक्ष भण्डारीले सुखमा मात्र नभई दु:खमा समेत पत्रकार महासंघ कास्की साथमा रहेको बताउँदै आवश्यक सहयोगको लागि तयार रहेको बताउनुभयो। उहाँले, उदयमान चित्रकार सन्ध्याको अल्पायुमा भएको निधनले राष्ट्रलाई नै ठूलो क्षति भएको बताउनुभयो।
सन्ध्या बाल्यकालदेखि नै चित्रकलामा पोख्त रहेकाे तथा हरेक चित्रलाई घोरिएर हेर्दा त्यस भित्र लुकेका शब्दहरुले प्रतिभाकाे निखारता देखाउने सन्ध्याका बुबा राजु क्षेत्रीकाे भनाइ छ ।
छोरीको अकल्पनीय निधन भएपछि अन्य परिवारमा पनि आफ्नो परिवारको जस्तो अवस्था सृजना नहोस् भन्ने क्षत्रीकाे कामना छ ।
छोरी सन्ध्याको मृत्यु रहस्यमय र शंकास्पद रहेको हुँदा प्रहरी र सम्बन्धित निकायले आवश्यक छानविन गरी कारवाही गरिदिन बुवा राजु क्षेत्रीले अनुरोध गर्नुभएको छ।

