महाशिवरात्रि पर्व शिवको पूजा–आराधना, पशुपति लगायतका शिवमन्दिरहरूमा दर्शनार्थीकाे भीड
फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी हिन्दु धर्मावलम्वीहरूले मनाउँदैछन् ।
हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई सामुहिक रूपमा ग्रहण गर्ने चलन छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गर्ने चलन छ ।
कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। मुलुकका बिभिन्न स्थानबा साथै छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेकाे छ।
पशुपति लगायत मुलुकका विभिन्न स्थानमा रहेका शिव भगवानकाे मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ ।

