मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन
पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ ।
शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताउनुभयाे । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उहाँले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुग्न लागेको बताउनुभयाे ।
आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको आयोजनाको लागत अनुमान ११ करोड ६७ लाख रहे पनि ७ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । कालीखोलाबाट मोटरले पानी तानेर १÷१ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरिएको छ । आयोजना अन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र ५ हजार ४ सय ३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे ।
काहुँ धरहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष दीपकप्रकाश आचार्यले यस परियोजनाको पानीले मात्र पु¥याउन नसकिने भएकाले विगतदेखि नै सञ्चालन हुन्दै आएका ससाना ११ वटा योजना पनि सँगसँगै सञ्चालनमा रहेको बताउनुभयाे ।

